डेपुटी गभर्नर र सेबोन अध्यक्ष नियुक्ति अझै अनिश्चित, वित्तीय क्षेत्र पर्खाइमा

आइतबार, २४ जेठ २०८३ ०५:५९ बिहान
Font Size: 20px

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पद र नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति अझै अन्योलमै रहेको छ। दुबै महत्वपूर्ण वित्तीय नियामक निकायको नेतृत्व नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न नसक्दा समग्र वित्तीय क्षेत्र प्रभावित हुने चिन्ता बढेको छ ।

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त भएको करिब तीन महिना बित्न लाग्दा पनि सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन। मौद्रिक नीति तर्जुमा, बैंक तथा वित्तीय संस्थाको नियमन तथा समष्टिगत वित्तीय स्थायित्वका लागि महत्वपूर्ण मानिने उक्त पद खाली रहँदा केन्द्रीय बैंकको उच्च व्यवस्थापन तहमा दबाब बढेको बताइन्छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया पनि मन्त्रिपरिषद्को निर्णयमै अड्किएको छ। पुँजी बजारको नियमन, सुपरिवेक्षण तथा विकासका लागि नेतृत्व आवश्यक भए पनि निर्णयमा ढिलाइ हुँदा बजार सुधारका पहलहरू प्रभावित हुने सरोकारवालाको भनाइ छ ।

वित्तीय क्षेत्रका जानकारहरूका अनुसार दुवै निकायमा नेतृत्व रिक्त रहँदा नीतिगत निर्णय, बजार नियमन र लगानीकर्ता विश्वासमा असर पर्न सक्ने जोखिम रहन्छ। 

सरकारको ढिलाइले वित्तीय क्षेत्रको नेतृत्व संरचनामा अनिश्चितता बढेको भन्दै तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन सरोकारवालाले आग्रह गरेका छन् ।

प्रतिक्रिया 0