काठमाडौं । डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानीको प्रयोग विस्तार भइरहेका बेला बैंक खाता र डिजिटल वित्तीय माध्यमलाई वित्तीय ठगीमा प्रयोग गर्ने जोखिम पनि बढ्दै गएको छ। विशेषगरी अरू व्यक्तिले ठगी वा अन्य गैरकानुनी गतिविधिबाट प्राप्त गरेको रकम आफ्नो बैंक खाता वा डिजिटल वालेटमार्फत प्राप्त गरी अर्को व्यक्ति वा खातामा पठाउने व्यक्तिलाई ‘मनी म्युल’ भनिन्छ। यस्तो गतिविधिमा संलग्न व्यक्ति कहिलेकाहीँ आफू अपराधको हिस्सा बन्दैछ भन्ने थाहा नपाई र कतिपय अवस्थामा कमिसन वा आर्थिक लाभका लागि जानाजान सहभागी हुने गर्छन्।
‘मनी म्युल’ कसरी बन्छन्?
मनी म्युल बनाउन अपराधीहरूले विशेषगरी ‘छिटो पैसा कमाउने’, ‘घरमै बसेर कमिसन कमाउने’ वा ‘खाता प्रयोग गरेबापत रकम प्राप्त गर्ने’ जस्ता प्रलोभन देखाउने गर्छन्। अनलाइन रोजगारी, सामाजिक सञ्जाल, सन्देश आदानप्रदान गर्ने माध्यम तथा व्यक्तिगत सम्पर्कमार्फत विश्वासमा लिएर व्यक्तिको बैंक खाता प्रयोग गर्न लगाइन्छ। खातामा रकम आएपछि अर्को खातामा पठाउने वा नगद निकालेर सम्बन्धित व्यक्तिलाई बुझाउने काम गराएबापत कमिसन दिने प्रस्ताव आउन सक्छ। अमेरिकी संघीय अनुसन्धान ब्युरोका अनुसार अपराधीहरूले ठगीबाट प्राप्त रकमको वास्तविक स्रोत लुकाउन मनी म्युल प्रयोग गर्ने गर्छन्।
अन्तर्राष्ट्रिय तथ्यांकमा बढ्दो जोखिम
मनी म्युलको जोखिम कति ठूलो छ भन्ने अन्तर्राष्ट्रिय तथ्यांकले पनि देखाउँछ। बेलायतको वित्तीय आचरण नियामक निकाय Financial Conduct Authority (FCA) ले सन् २०२६ मा सार्वजनिक गरेको अध्ययनअनुसार त्यहाँका नियमनअन्तर्गतका वित्तीय संस्थाले सन् २०२५ मा शंकास्पद मनी म्युल गतिविधिसँग सम्बन्धित दुई लाख ३८ हजार ३९६ ग्राहकको बैंकिङ सम्बन्ध अन्त्य गरेका थिए। सन् २०२३ मा यस्तो संख्या एक लाख ८४ हजार ९३५ थियो। दुई वर्षमा यस्तो कारबाही करिब २८.९ प्रतिशतले बढेको देखिन्छ।
उक्त अध्ययनअनुसार सन् २०२३ देखि २०२५ सम्म कुल ६ लाख ५६ हजार ६०० ग्राहकको बैंकिङ सम्बन्ध शंकास्पद मनी म्युल गतिविधिका कारण अन्त्य गरिएको थियो। सन् २०२५ मा मात्र बैंकिङ सम्बन्ध अन्त्य गरिएका ग्राहकका खातामध्ये एक लाख १४ हजार ९८४ खाता खाता खोलेको पहिलो वर्षभित्रै हटाइएका थिए। यो अध्ययनमा समेटिएको तथ्यांकको ४७.१ प्रतिशत हो। यसले नयाँ खोलिएका वा छोटो अवधिमा सक्रिय भएका खातामार्फत हुने असामान्य कारोबारमा समेत वित्तीय संस्थाले विशेष निगरानी गर्नुपर्ने देखाउँछ।
नेपालमा साइबर अपराधका उजुरी बढ्दै
नेपालमा भने मनी म्युलका लागि छुट्टै राष्ट्रिय तथ्यांक सार्वजनिक भएको स्पष्ट आधार उपलब्ध छैन। तर साइबर अपराध तथा अनलाइन ठगीसम्बन्धी उजुरीको संख्या उल्लेख्य छ। नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका थिए। त्यस अवधिमा साइबर अपराधतर्फ १६१ वटा मुद्दा दर्ता हुनुका साथै १५५ जना पक्राउ परेका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए।
सामाजिक सञ्जालदेखि बैंकिङ प्रणालीसम्म जोखिम
नेपाल प्रहरीको तथ्यांकले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको दुरुपयोगसम्बन्धी जोखिम पनि देखाउँछ। आर्थिक वर्ष २०८२/८३ मा फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसँग सम्बन्धित सात हजार १२३, टिकटकसँग सम्बन्धित छ हजार ७७६, ह्वाट्सएपसँग सम्बन्धित तीन हजार १०५ र टेलिग्रामसँग सम्बन्धित एक हजार ३१ वटा निवेदन दर्ता भएका थिए। त्यस्तै, इसेवा, खल्ती, बैंक खाता तथा सन्देश सेवासँग सम्बन्धित ७४४ वटा निवेदन दर्ता भएको प्रहरी तथ्यांकमा उल्लेख छ। यी सबै निवेदन मनी म्युलका घटना भने होइनन्, तर सामाजिक सञ्जाल, डिजिटल भुक्तानी र बैंकिङ प्रणालीबीचको सम्बन्ध बढ्दै जाँदा वित्तीय अपराधको जोखिमलाई सँगसँगै बुझ्नुपर्ने अवस्था देखिन्छ।
वित्तीय साक्षरता किन आवश्यक?
यस्तो अवस्थामा वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ। नेपाल राष्ट्र बैंकको सन् २०२२ मा प्रकाशित वित्तीय साक्षरता आधाररेखा सर्वेक्षणअनुसार नेपालको समग्र वित्तीय साक्षरता अङ्क २० मध्ये ११.५९, अर्थात् ५७.९ प्रतिशत थियो। वित्तीय ज्ञान, व्यवहार र मनोवृत्ति गरी तीनवटै पक्षमा निर्धारित न्यूनतम लक्ष्य पूरा गर्ने वयस्क जनसंख्या भने २७.५ प्रतिशत मात्र थियो। यसले वित्तीय साक्षरता विस्तार गर्न अझै पर्याप्त काम गर्नुपर्ने देखाउँछ।
वित्तीय साक्षरता भन्नाले पैसा बचत गर्ने वा बजेट बनाउने ज्ञान मात्र बुझिँदैन। बैंक तथा वित्तीय सेवाका सर्त र शुल्क बुझ्ने, ऋण तथा लगानीसम्बन्धी निर्णय गर्ने, वित्तीय जोखिम पहिचान गर्ने, डिजिटल कारोबार सुरक्षित रूपमा गर्ने, वित्तीय ठगीबाट जोगिने र आफ्नो वित्तीय अधिकारबारे जानकारी राख्ने क्षमतालाई समेत वित्तीय साक्षरताको हिस्सा मानिन्छ।
मोबाइल बैंकिङ चलाउन जान्नु मात्र पर्याप्त छैन
मोबाइल बैंकिङ वा डिजिटल वालेट चलाउन जान्नु र त्यसलाई सुरक्षित रूपमा प्रयोग गर्न जान्नु फरक कुरा हो। आफ्नो बैंक खातामा आएको रकमको स्रोत नबुझ्नु, अपरिचित व्यक्तिलाई खाता प्रयोग गर्न दिनु, अत्यधिक कमिसनको प्रलोभनमा पर्नु वा गोप्य विवरण अरूलाई उपलब्ध गराउनु जोखिमपूर्ण व्यवहार हुन्।
त्यसैगरी, एकपटक प्रयोग हुने गोप्य सङ्केत, व्यक्तिगत परिचय सङ्केत, पासवर्ड तथा अन्य संवेदनशील विवरण अरूलाई दिनु हुँदैन। अपरिचित व्यक्तिले पठाएको शंकास्पद लिङ्क खोल्ने, नक्कली रोजगारीको प्रस्तावमा विश्वास गर्ने वा अवास्तविक प्रतिफलको लोभमा लगानी गर्ने प्रवृत्तिले पनि आर्थिक क्षति निम्त्याउन सक्छ।
‘खाता प्रयोग गरेबापत कमिसन’ भनेपछि सचेत
‘तपाईंको खातामा पैसा आउँछ, अर्को खातामा पठाइदिनुहोस्’, ‘खाता प्रयोग गरेबापत कमिसन दिन्छौँ’ वा ‘अनलाइन कामका लागि रकम प्राप्त गरेर अरूलाई पठाउनुपर्छ’ जस्ता प्रस्तावप्रति विशेष सतर्कता अपनाउनुपर्छ। रकमको स्रोत र कारोबारको उद्देश्य स्पष्ट नभएसम्म आफ्नो बैंक खाता वा डिजिटल वालेट अरूको कारोबारका लागि प्रयोग गर्न दिनु हुँदैन।
आफ्नो खातामा शंकास्पद रकम आएको अवस्थामा त्यसलाई आफैँ अर्को खातामा पठाउने वा खर्च गर्नेभन्दा सम्बन्धित बैंकलाई तत्काल जानकारी दिनु उपयुक्त हुन्छ। बैंक खाताको विवरण, गोप्य सङ्केत र परिचयपत्रका प्रतिलिपिसमेत अपरिचित व्यक्तिलाई उपलब्ध गराउनु हुँदैन। शंकास्पद कारोबार वा ठगीको घटना भएमा बैंक तथा सम्बन्धित प्रहरी निकायमा जानकारी गराउनुपर्छ।
वित्तीय समावेशीकरणसँगै वित्तीय सुरक्षा पनि
डिजिटल वित्तीय प्रणालीको विस्तारसँगै वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र डिजिटल सुरक्षालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। विश्व बैंकको सन् २०२५ को विश्वव्यापी वित्तीय समावेशीकरणसम्बन्धी प्रतिवेदनले सन् २०२४ मा १४१ अर्थतन्त्रका करिब एक लाख ४८ हजार वयस्कलाई समेटेर वित्तीय सेवा, डिजिटल पहुँच र वित्तीय सुरक्षासम्बन्धी तथ्यांक संकलन गरेको थियो।
नेपालमा पनि बैंक तथा वित्तीय संस्था, नियामक निकाय, डिजिटल भुक्तानी सेवा प्रदायक, शैक्षिक संस्था र सञ्चारमाध्यमले मनी म्युल, नक्कली रोजगारी, विद्युतीय ठगी तथा शंकास्पद लगानी योजनाबारे निरन्तर जनचेतना फैलाउन आवश्यक छ।
बैंक खाता खोल्नु वित्तीय समावेशीकरणको सुरुवात हो भने त्यसलाई सुरक्षित रूपमा सञ्चालन गर्न जान्नु वित्तीय साक्षरताको महत्वपूर्ण हिस्सा हो। त्यसैले ‘खाता खोलौँ’ सँगै ‘खाता सुरक्षित राखौँ’ र ‘डिजिटल कारोबार गरौँ’ सँगै ‘कारोबारको जोखिम चिनौँ’ भन्ने वित्तीय शिक्षा अहिलेको डिजिटल अर्थतन्त्रको अपरिहार्य आवश्यकता बनेको छ।
प्रतिक्रिया 0