बित्तीय साक्षरता : दिगो अर्थतन्त्रको मुख्य आधार

Thursday, 18 December 2025, 10:06 AM
15 पटक हेरियो
Font Size: 20px

नियामक नेपाल राष्ट्र बैंक र वित्तीय क्षेत्रको अहिलेको एउटै लक्ष्य वित्तीय शिक्षा मार्फत आम जनतालाई वित्तीय रूपमा साक्षर बनाउने र दिगो बैंकिङलाई प्रवर्द्धन गरी समृद्ध नेपालको सपना पूरा गर्ने रहेको छ । नीतिगत तहमा नियामक र कार्यगत तहमा वित्तीय क्षेत्र यसमा लागि परेको छ । कतिपय बैंकहरूले वित्तीय साक्षरता वर्ष घोषणा गरेर वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

वित्तीय साक्षरतालाई बैंक खाता, डिम्याट खाता र कर्जा संख्या र जनसंख्याको अनुपातका आधारमा मात्रै हेर्दा वित्तीय साक्षरता प्रतिशत धेरै देखिन्छ तर वित्तीय साक्षरता आफैँमा बृहत् र व्यापक छ । वित्तीय साक्षरतालाई पनि औपचारिक शिक्षाको जस्तै गरी हेर्ने हो भने नर्सरीदेखि प्रोफेसरसम्म तहगत रूपमा हेर्न सकिन्छ । पारिवारिक मासिक खर्च आम्दानीको बजेट निर्माणदेखि बचत, बैंकिङ कारोबार, डिजिटल कारोबार, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, पुँजी निर्माण, लगानी, लगानी विविधीकरण, उद्यमशीलता लगायत मानवीय समृद्धिको सम्पूर्ण पाटोलाई वित्तीय साक्षरताले समेटेको हुन्छ ।

दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै संवाहकहरूले दिगो आर्थिक विकासको लक्षित आफ्नो लक्ष्यको तालमेल गर्नुपर्ने हुन्छ । हाम्रो अर्थतन्त्र धेरै नै संवेदनशील छ । खुला सीमा, तरलित राजनीति, आयात र विप्रेषण निर्भर अर्थतन्त्र, समानान्तर अनौपचारिक अर्थतन्त्र, फितलो तथ्यांक प्रणाली, असमान वितरण प्रणाली, कमजोर संस्थागत सुशासन इत्यादि । त्यसैले सामान्य गडबडीमा पनि अर्थतन्त्र थला परेजस्तै हुन्छ । अहिले त विश्व अर्थतन्त्र नै मन्दीमा गएको बेला छ । विश्वका ठूला अर्थतन्त्रलाई नै पनि उच्च मुद्रास्फीति र उच्च ब्याजदरसँग जुध्नुपरेको छ ।

नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आयात र विप्रेषणमै निर्भर छ । नियामकले तोकिदिएका केही बाध्यात्मक प्राथमिकता क्षेत्रहरू बाहेक वित्तीय क्षेत्र पनि आयात र विप्रेषणकै वरिपरि घुमेको छ जुन अल्पकालीन मात्रै छ, दिगो छैन । उद्यमशीलता विकास नभएसम्म दिगो बैंकिङ सम्भव छैन र उद्यमशीलता विकासका लागि पुँजी निर्माण तथा परिचालन र पुँजी निर्माण तथा परिचालनका लागि वित्तीय साक्षरता अपरिहार्य छ । विप्रेषण थोरैले घट्यो भने तरलता संकट आउँछ, तरलता संकटले आयात रोक्न बाध्य गराउँछ । आयात रोकिँदा वित्तीय क्षेत्रको व्यापार ठप्पप्रायः हुन्छ । व्यापार रोकिँदा अर्थतन्त्र शिथिल बन्छ । यस अर्थमा पनि वित्तीय साक्षरता समस्याग्रस्त अर्थतन्त्रको दिगो समाधान हो ।

वित्तीय साक्षरताले कसरी काम गर्छ त ?

सामान्य स्तरको वित्तीय साक्षरता

बचत

आम्दानीबाट खर्च कटाएर बचेको रकमलाई बचतको रूपमा लिइन्छ । वित्तीय साक्षरताले आम्दानीबाट पहिले बचत गरेर खर्च गर्न सिकाउँछ । आवश्यक खर्चहरूमात्र गरी फजुल खर्च रोक्न र बचतको महत्व के हो भन्ने कुरा सिकाउँछ । आजको सानो बचतले भोलिको आर्थिक संकटसँग जुध्न र पुँजी निर्माण गरी साना–ठूला काम गर्ने आधार तयार गर्छ ।

बीमा

बीमाले बचत र जोखिम दुवै पक्षलाई समेट्छ । घरको मूल मान्छेको बीमा गर्दा आश्रित परिवारलाई सुरक्षा हुन्छ । भविष्यका अनपेक्षित घटनासँग जुध्न र आश्रित परिवारको शिक्षा, स्वास्थ्य तथा जीवनस्तरमा नकारात्मक असर पर्न नदिन बीमा आवश्यक छ । अहिले स्वास्थ्य बीमाले पनि स्वास्थ्योपचारमा लाग्ने ठूलो खर्चलाई व्यवस्थापन गर्न मद्दत पुग्छ । वित्तीय साक्षरता अभियानमार्फत यो कुरा सर्वसाधारणलाई सिकाउन जरुरी छ ।

विप्रेषण

लाखौँ नेपाली वैदेशिक रोजगारीका लागि विदेश जान्छन् र कमाएको रकम नेपालमा पठाउँछन् । सो रकमको आधाभन्दा बढी हिस्सा सामान्य उपभोग र विलासिताका वस्तु तथा सेवामा खर्च हुन्छ । विप्रेषणबाट आएको रकमको सही सदुपयोग हुन सकेको छैन । कतिपय व्यक्तिहरू हुण्डी र अन्य गैरकानुनी माध्यमबाट विप्रेषण गर्दा ठगिएका छन् । अहिले बचत तथा मुद्दती खातामा थप ब्याज र सेयरको प्राथमिक निष्कासनमा आरक्षणले केही सुधार भएको छ । यसमा थप सुविधा र वित्तीय साक्षरताको भूमिका अहम रहन्छ ।

सुरक्षित बैंकिङ

मनी लन्डरिङ र प्रविधिमा आधारित बैंकिङभित्रको जोखिम अहिलेको प्रमुख चुनौती हो । गैरकानुनी आर्जनलाई वैध बनाउन विभिन्न व्यक्तिहरूको प्रयोग हुन सक्छ, जुन अर्थतन्त्र र समाजका लागि घातक हुन्छ । त्यस्तै प्रविधिमा आधारित बैंकिङ सुविधाहरूको प्रयोगमा लाखौँ व्यक्ति अहिले ठगिइरहेका छन् । आफ्नो व्यक्तिगत विवरण अञ्जान वा नचिनेका व्यक्तिलाई दिँदा आफ्नै दुःखले आर्जेको रकम चोरी भइरहेको छ । यी सबै कुराबाट सुरक्षित रहन वित्तीय साक्षरताले सिकाउँछ ।

कर्जाको सदुपयोग

एउटाले दुःखजेलो गरी कमाएको र बचत गरेर आएको रकमलाई केही गर्छु र निश्चित समयावधिमा ब्याजसहित फिर्ता गर्ने शर्तमा बैंकबाट सापटी लिएको रकम ऋण अथवा कर्जा हो । कर्जाको दुरुपयोग दण्डनीय हुन्छ । जुन उद्देश्यका लागि कर्जा लिएको हुन्छ, सोही प्रयोजनमा खर्च गर्नु र शर्तअनुसार तिर्दै जानु ऋणीको दायित्व हो । कर्जाको दुरुपयोगले ऋणी व्यक्ति र वित्तीय संस्था दुवैलाई नोक्सान हुन्छ, जसले अर्थतन्त्रमा नकारात्मक असर गर्छ । कर्जाको सही सदुपयोग गरी कुल गार्हस्थ उत्पादनमा योगदान दिन वित्तीय साक्षरताले भूमिका खेल्न सक्छ ।

कालोसूची

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार कालोसूचीमा पर्नेहरूको संख्या एक वर्षमै दोब्बर भएको छ । समयमा आफ्ना दायित्व पूरा नगर्दा लाभग्राही पक्षले कालोसूचीका लागि अनुरोध गर्छ र पहिलो पक्ष कालोसूचीमा राखिन्छ । मौज्दात विनाको चेक अनादर, समयमा कर्जा भुक्तानी नगर्ने र करारअनुसारका अन्य कुनै कार्य सम्पन्न गर्न नसक्दा कालोसूचीमा पर्नेहरूको संख्या बढेको छ । कालोसूची पर्ने प्रक्रिया र यसका कानुनी बेफाइदाहरू वित्तीय साक्षरताले समेट्नुपर्ने विषय हो ।

सहुलियतपूर्ण कर्जा र उद्यमशीलता

उद्यमशीलताको विकास गरी आन्तरिक उत्पादन र आयस्तर बढाउन विभिन्न शीर्षकहरूमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ । जुन कर्जामा थोरै अर्थात आधा मात्र ब्याज लाग्छ । केही गर्न पुँजीको अभावमा रहेका व्यक्तिहरूलाई लक्षित गरी दिइने कर्जाको उत्पादकत्व बढाउन, विधि र प्रक्रिया बुझाउन साथै उद्यमशीलता विकास गर्न वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहन्छ ।

विभिन्न क्षेत्र विशेष र वर्ग विशेषका लागि पनि फरक तरिकाले वित्तीय साक्षरता सञ्चालन गर्न सकिन्छ । विद्यार्थी, गृहिणी, किसान, कर्मचारी, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू, व्यापारी तथा स्वरोजगार भई काम गरिरहेका सबैलाई फरक शैलीमा वित्तीय रूपमा साक्षर गर्नु दिगो अर्थतन्त्रको आधारस्तम्भ हुनेछ ।

5 महिना अगाडि
15 पटक हेरियो

प्रतिक्रिया 4


4 महिना अगाडि

hgfd

4 महिना अगाडि

xdfdfddsddsd

4 महिना अगाडि

ASDawd

4 महिना अगाडि

यो समाचार धेरै उपयोगी भयो, धन्यवाद! मलाई यसमा उल्लेखित जानकारीले धेरै मद्दत गर्यो।