हाम्रो बैंकिङ । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार (मंसिर ४ गते) सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम थियो। यससँगै एकैदिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको हो।
पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ।
प्रतिक्रिया 0