६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही

बुधबार, ७ आश्विन २०८३, बेलुका ४:४१


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात तथा अनिवार्य नगद मौज्दातसम्बन्धी मापदण्ड पालना नगर्ने ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार न्यूनतम पूँजीकोष अनुपात कायम नगरेका फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, सुनसरी, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङ, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, बूढानीलकण्ठ, काठमाडौं र एनआईसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा माथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

राष्ट्र बैंकका अनुसार सम्बन्धित संस्थाहरूले २०८२ असार मसान्तमा क्रमशः ६.१२ प्रतिशत, ६.३५ प्रतिशत, ४.०५ प्रतिशत र ६.२३ प्रतिशत न्यूनतम पूँजीकोष अनुपात कायम गरेका थिए। नियामकीय मापदण्डअनुसार आवश्यक अनुपात कायम नभएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०८४ को सम्बन्धित व्यवस्थाअनुसार कारबाही अघि बढाइएको हो।

त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, बनेपा, काभ्रेपलाञ्चोक लाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटक नगद जरिवाना गरिएको छ। राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङ लाई पनि २०८२ चैत, २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो पटक नगद जरिवाना गरेको जनाएको छ।

राष्ट्र बैंकको यो कारबाहीले लघुवित्त संस्थाहरूको पूँजी पर्याप्तता र अनिवार्य नगद मौज्दातसम्बन्धी नियामकीय अनुपालनलाई थप कडाइका साथ निगरानी गरिएको देखाउँछ।

प्रतिक्रिया 0