लघुवित्त विरोधी गतिविधिले वित्तीय प्रणाली संकटमा : ऋण नतिर्न उक्साउने गतिविधिविरुद्ध कडा बन्न सर्वोच्चको परमादेश

Sunday, 10 May 2026, 08:46 PM
7 पटक हेरियो
Font Size: 20px

सर्वोच्च अदालतले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’का नाममा भइरहेका गतिविधिले नेपालको समग्र वित्तीय प्रणाली तथा ग्रामीण अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने ठहर गर्दै सरकारलाई कडा कानुनी कारबाही गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयालबालकृष्ण ढकाल को संयुक्त इजलासले लघुवित्त संस्थाको कामकारबाहीमा अवरोध गर्ने, ऋण नतिर्न उक्साउने, कर्मचारीमाथि आक्रमण गर्ने तथा कार्यालयमा तोडफोड र आगजनीजस्ता गतिविधि गैरकानुनी भएको स्पष्ट गरेको हो । 

अदालतले गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायलाई यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई पहिचान गरी फौजदारी कानूनअन्तर्गत मुद्दा चलाउन निर्देशन दिएको छ । साथै, लघुवित्त संस्था, कर्मचारी र सेवाग्राहीको सुरक्षाका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि आदेश दिएको छ ।

फैसलामा पछिल्ला वर्षहरूमा विभिन्न जिल्लामा लघुवित्त कार्यालयमाथि तोडफोड, आगजनी तथा कर्मचारीमाथि दुर्व्यवहार भएका घटनालाई उल्लेख गरिएको छ । अदालतका अनुसार यस्ता गतिविधिले अर्बौं रुपैयाँको लगानी जोखिममा परेको छ भने ५८ लाखभन्दा बढी सदस्यको बचत तथा वित्तीय पहुँचमा असर पर्न सक्ने अवस्था सिर्जना भएको छ ।

सर्वोच्चले बैंकिङ सेवा ‘अत्यावश्यक सेवा’ अन्तर्गत पर्ने स्मरण गराउँदै यस्तो क्षेत्रमा अवरोध सिर्जना गर्नु कानूनविपरीत हुने स्पष्ट पारेको छ । अदालतले राज्य केवल घटना भएपछि मात्र होइन, सम्भावित जोखिम पहिचान गरेर पूर्वतयारीसहित सुरक्षा व्यवस्थापनमा सक्रिय हुनुपर्ने पनि उल्लेख गरेको छ ।

यद्यपि अदालतले लघुवित्त क्षेत्रमा देखिएका केही विकृतिप्रति पनि ध्यानाकर्षण गराएको छ । केही संस्थाबाट चर्को ब्याज, अस्वाभाविक असुली प्रक्रिया तथा ऋणीमाथि अभद्र व्यवहार हुने गुनासो आएको भन्दै नियामक निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

20 घण्टा अगाडि
7 पटक हेरियो

प्रतिक्रिया 0