नीति तथा कार्यक्रम : धितोपत्र, नेप्से र सीडीएससी प्रणालीको पुनर्संरचना हुने

Monday, 11 May 2026, 11:15 PM
7 पटक हेरियो
Font Size: 20px

काठमाडौं । सरकारले धितोपत्र बजारसँग सम्बन्धित निकायहरूको संरचनात्मक सुधार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा धितोपत्र नियामक निकाय, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससी प्रणालीको पुनर्संरचना गर्ने उल्लेख गरिएको छ ।

यसअन्तर्गत पूँजी बजारलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको छ । बजार सञ्चालन, कारोबार व्यवस्थापन, सेटलमेन्ट प्रणाली तथा नियामकीय क्षमतामा सुधार गर्दै लगानीकर्ताको विश्वास बढाउने सरकारको योजना छ ।

नीति तथा कार्यक्रममा संस्थागत लगानीकर्ताको सहभागिता विस्तारमा विशेष जोड दिइएको छ । विशेषगरी पेन्सन कोष, बिमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपाली (NRN) लगानीकर्तालाई पूँजी बजारमा अझ सक्रिय रूपमा सहभागी गराइने उल्लेख गरिएको छ ।

सरकारले यी लगानीकर्ताको सहभागिता बढ्दा बजारमा दीर्घकालीन लगानी प्रवर्द्धन हुने, अस्थिरता कम हुने र बजारको गहिराइ बढ्ने अपेक्षा गरेको छ ।

हाल नेपाली पूँजी बजारमा खुद्रा लगानीकर्ताको दबाब बढी देखिने र दीर्घकालीन संस्थागत लगानी कमजोर रहेको अवस्थामा यो नीति महत्वपूर्ण मानिएको छ । पुनर्संरचनापछि कारोबार प्रणाली सुधार, जोखिम व्यवस्थापन सुदृढीकरण र डिजिटल सेटलमेन्ट प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ ।

17 घण्टा अगाडि
7 पटक हेरियो

प्रतिक्रिया 0